बेलायतका लागि नेपाली राजदुत रेग्मीद्वारा बेलायती महारानीसमक्ष भिडियोमार्फत ओहोदाको प्रमाणपत्र पेश
लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष भर्चुअलरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङघम प्यालेसमा आज आयोजित एक समारोहमा राजदुत रेग्मीले सो प्रमाणपत्र पेश गर्नुभएको कुरा दुताबासले जनाएको छ ।
प्रमाणपत्र बुझाएपछि राजदुत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि बताएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदुत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको विकासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् । उनले आफ्नो दुई नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड १९ का कारण नेपालको अवस्था र खोप बारेमा चासो व्यक्त गरेकी थिइन् ।
राजदुत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्याएको सहयाेग तथा हालै कोभिड १९ विरुद्धको नेपालको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए ।
विशेष समारोहमा महारानी भिडियो लिङ्कबाट जोडिएकी थिइन् । हाल महारानी विन्जर क्यासलमा बसोबासरत छिन् । यस अघि राजदूत रेग्मी तथा उनकी धर्म पत्नी चन्द्रकला रेग्मीएक बग्गीमा चढेर राज दरबार जानुभएको थियो ।