तमु समाज यूकेले नेपालमा ११ लाख २५ हजार सहयोग

लन्डन । “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात जन्म दिने आमा र जन्मभूमी, स्वर्गभन्दा पनि महान हुन्छ, भावनालाई तमु समाज युकेले सदा सर्बदा आत्मसाथ गर्दै आएको छ । पछिल्लो समय नेपालमा कोरोना महामारी बढेसँगै (कोरोनाको दोस्रो लहरसँगै) नेपालमा स्वास्थ्य संकट आइपरेको छ । कोरोना उपचारमा अत्यधिक प्रयोग हुने अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाब र समस्या देशब्यापी देखिएको छ । यी समस्या समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले तमु समाज युकेले ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोगका साथै उपचारमा समेत सघाउ पुर्याउँदै आएका विभिन्न तीन संस्थामार्फत तमु समाज युकेले सहयोग गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख २५ हजार, रवि लामिछाने फाउण्डेसनलाई ३ लाख र राधा पौडेल फाउण्डेसनलाई ३ लाख रुपैयाँ सहयोग गरेको हो ।

तमु समाज युकेका तर्फबाट आजीवन सदस्य तथा समाजको महासचिब श्री हर्क बहादुर गुरुङको श्रीमती शान्तिकला गुरुङले रवि लामिछाने फाउण्डेसन र राधा पौडेल फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । त्यसैगरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन हाल अमेरिकामा रहेकाले सो केन्द्रका किशोर रिमाललाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा रिमालले तमु समाज युकेलाई सहयोगका लागि धन्यवाद दिए । केन्द्रले विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । समाजले उपलव्ध गराएको सहयोग रकम पनि सो अभियानमा लगाउने जानकारी दिए ।

त्यसैगरी, रवि लामिछाने फाउण्डेसनका संस्थापक तथा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले समाजबाट प्राप्त सहयोग सही ठाउँमा सदुपयोग गर्ने बताउँदै समाजलाई धन्यवाद दिए । राधा पौडेल फाउण्डेसनका संस्थापक राधा पौडेलले स्वास्थ्य सामग्री अभाव भएको ठाउँमा स्वास्थ्य सामग्री उपलव्ध गराउनका लागि समाजको सहयोग उपयोगी हुने भन्दै धन्यवाद दिए ।

संस्थाका उपाध्यक्ष शीव कुमार गुरुङले संकलित रकमको विस्तृत जानकारी दिएका थिए भने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रचार–प्रसार अभियान सञ्चालन गरेका थिए । महासचिव हर्क गुरुङले सूचना दिने काम गरेका थिए भने अध्यक्ष शिवचन्द्र गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

परोपकारको क्षेत्रमा कटिवद्ध गैरनाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख र सुखमा साथ दिंदै आएको छ । बिपत्तिका बेला आर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जीवन बिताइरहेका स्वदेशका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ । तमु समाज युकेको सामाजिक सक्रियता र सदस्यहरुको सदभावले हालसम्म एक करोड रुपैयाभन्दा बढी आर्थिक सहयोग नेपालमा गरिसकेको छ। र, यसले हासिल गरेका उपलव्धीहरु गर्व गर्न लायक छन् ।