एनआरएनए यूके र अन्य देशका एनसीसीद्वारा ४८३ अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तन्तरण

लन्डन । “अक्सिजन पठाऔ, नेपालीको ज्यान जोगाऔ” कार्यक्रम अन्तर्गत गैरआवासीय नेपाली संघ बेलायतले हिजो ७ जुन सोमबार को दिन भर्चुल जुम बैठक आयोजना गरेर एनआरएन बेलायत लगायत विभिन्‍न देशहरुबाट नेपाल सरकारलाई ४८३ थान अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्रीहरु प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।

गैरआवासीय नेपाली संघ बेलायतले आयोजना गरेको ‘भर्चुअल’ अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका । कार्यक्रममा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए ।

यद्यपि बेलायत अमेरिका लगायतका मुलुकहरुले नेपाल सरकारलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्रीहरु सहयोग गरेकोमा धन्यवाद दिदै मन्त्री तामाङ्गले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने जानकारी पनि गराए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्रीहरु नेपाल पठाउन एनआरएन बेलायत लगायत विभिन्न संघ सस्थाहरुले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गरे । कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए ।

एनआरएनएकी यूकेकी अध्यक्ष पुनम गुरुङले गैरआवासीय नेपाली संघ बेलायतले तमाम संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा खरिद गरेको १५० वटा सहित अन्य एनसीसी समेत गरेर ४३३ वटा अक्सिजन कन्सन्ट्रेटरहरु नेपाल सरकारलाई सहयोगमा स्वास्थ्य सामग्री पुर्‍याउन सफल भएको जानकारी दिइन् । साथै अधक्ष्य पुनम गुरुङले अक्सिजन कन्सर्नट्रेटर किन्न आर्थिक सहयोग गर्नुहुने बेलायत स्थित नेपाली संघसंस्था र ब्यक्तित्वहरुलाई धन्यवाद दिनुभयो ।

अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका अक्सिजन कन्सन्ट्रेटर , स्वास्थ्य सामग्रीहरु आवश्यकताका आधारमा छिटो भन्दा छिटो सही स्थानसम्म पुर्‍याउन आग्रह गरे ।