प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दाको सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरेका छन् । ती रिटको आज आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका थिए । सोही अनुसार संवैधानिक इजलाश गठन भएको हो ।
यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलास विवादमा परेको थियो । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेको थियो । विवादपछि पनि न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने बिताएका थिए । त्यसपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गरेपछि प्रधानन्यायाधीश राणा अप्ठेरोमा परेका थिए ।