
आनी छोइङले गाइन् ब्रिटिस गायिका जोस स्टोनसँग ‘फूलको आँखामा फूलै संसार’ (भिडिओ)
काठमाडौं । आनी छोइङ डोल्मा बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो । यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन् ।
सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन् । त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ । सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन् । तर आफ्नो सांस्कृतिक र धार्मिक महत्त्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा । उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन् ।
उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन् । उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौँं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन् । शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन् । वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए ।
सन् १९९४ मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए । तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन् ।
यसै क्रममा बेलायती गायिका जोस स्टोन र नेपाली गायिका आनी छोइङ डोल्माले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’को युट्युव संस्करणमा टीमअप गरेका छन् । आनीसँग आफूले गाएको उक्त गीतको नयाँ भर्सनलाई ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन् । यी दुई विश्वचर्चित गायिकाको स्वरमा गाइएको यो गीत निकै कर्णप्रिय र शान्त महसुस हुन्छ ।
हायात होटलको लबीमा छायांकन गरिएको यो गीतमा कुटुम्ब ब्यान्डका बाँसुरीबादक रुविनकुमार श्रेष्ठले प्रस्तुति दिएका छन् । न्यूह बज्राचार्यले गितारमा प्रस्तुत दिएका छन् । सन् २०१६ मा गायिका स्टोन विश्व भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी थिइन् ।
हेर्नूस गीत :



