भुपु परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको सराहनिय बिदाइ
काठमाडौँ । परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत धन्यवाद दिदै उहाँले मन्त्री पदमा रहँदाको सम्पत्ती विवरण सार्वजनिक गर्नुभएको छ ।
पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि ७ लाख नगद, २ सय पुस्तक र केही घरायसी सामान थपेकोे बताउनुभएको छ ।
उहाँले मन्त्री रहंदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयां पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयां १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयां ६० बचत रहेको जानकारी गराउनुभएको छ
पदमुक्त भएकै दिन सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता ज्ञवालीले मन्त्री भएपछि केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको बताउनुभएको छ ।
आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आफु पदमुक्त भएसँगै शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने जानकारी गराउनुभएको छ ।
धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८