नागरिकता अध्यादेशविरुद्धको रिटका लागि संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नागरिकता अध्यादेशविरुद्धका रिटमा वरिष्ठतम न्यायायधीबाटै संवैधानिक इजलास बनाएका छन् ।प्रधानन्यायाधीशकै नेतृत्वमा हुने संवैधानिक इजलासमा राणसहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । खतिवडाभन्दा वरीयताक्रममा अगाडि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले खतिवडा संवैधानिक इजलासमा परेका हुन् ।
नागरिकता विधेयक संसद्मा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेका नागरिकता अध्यादेशविरुद्धका रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी र अधिवक्ता वीरभद्र जोसीसहितले तथा मौलिक जरोकिलो पार्टीका तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलसहितले नागरिकता अध्यादेशविरुद्ध रिट दायर गरेका छन् ।