डेली मेलद्वारा प्रकाशित समाचार निराधार, नेपाली राजदुबासले गर्‍यो खण्डन

लण्डन । आज जुन ३ तारिख बिहीबार बेलायती अखबार डेली मेलले नेपालमा भेटिएको नयां कोभिड भेरियन्टका कारण होलिडे जानलाई खतरा भनी पहिलो पेजमै समाचार प्रकाशित गरेकोमा उक्त समाचारप्रति नेपाली राजदुताबासको गम्भीर ध्यानकर्षण भएको र समाचार निराधार भएको भनी खण्डन गरेको छ । नेपाली राजदुताबास लण्डनले आज एक बिज्ञप्ती जारी गर्दै नेपालमा भेटिएका कोरोना भाईरसका भेरीयन्टहरु नेपालमा उत्परिवर्तित नभएर अन्य ठाउँमा भएको र नेपालमा भेटिएको हो । त्यसैले डेली मेलमा प्रकाशित समाचारको कुनै आधार र सत्यता छैन ।

नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्टमात्र भेटिएको जनाउंदै ति पनि नेपालमा उत्पत्ति नभएका जनाएको छ । त्यसैले डेली मेलको बिहीबारको संस्करणमा कभर स्टोरीको समाचारमा कुनै सत्यता नभएको जनाउंदै दूतावासले पत्र पठाएर खण्डनसहित समाचार सच्याउन अनुरोध गरेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कुनै त्यस्तो नयाँ उत्परिवर्तित कोभिड भाईरस नभेटेको पुष्टी गरेको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो । डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।

डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी गरेको थियो । तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’

डब्लूएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ ।

त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।

भारतमा देखिएको नयाँ भेरियन्ट ( बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् ।

भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।