ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै, यस्तो छ अन्तिम तयारी
एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन । ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् । तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन । एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवाली एकताका लागि हदैसम्म लचिलो हुने बताए। उनका अनुसार स्पष्टीकरण सोधिएका १२ नेताको कारबाही प्रक्रिया रोकिएको छ ।
‘धेरै साथी मूलधारमा जोडिनुहोस्’, उनले भने, ‘बडो गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने कुरा गर्नुभएको छ । त्यही पनि फर्किनुभयो राम्रो नै हुन्छ। तर, एकताको प्रयासको तालमेलमा मेल खाँदैन ।’ उनले केही सदस्य पार्टीबाट निष्कासनमा परेकाले कार्यदल भने अस्तित्वमा नरहेको बताए। उनले कार्यदल पुनर्गठन हुन सक्ने बताए। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, यज्ञबहादुर सुनारलगायतलाई जेठ १० मा स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।
वरिष्ठ नेताद्वय नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेको दुई दिनमै निष्कासन गरिएको थियो । नेपालसहित नेतालाई जेठ ८ मा स्पष्टीकरण सोधेर १० गते पार्टी सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय भएको थियो । एमाले नेताहरूले स्पष्टीकरण सोधिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेतासँग संवाद गरिरहेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच सोमबार साँझ चार घन्टा छलफल भएको थियो। दरबारमार्गस्थित एक होटलमा भएको वार्ता एकता कसरी गर्ने भन्नेमा केन्द्रित भएको थियो ।
उक्त वार्तामा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी थिए । ओलीबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए । एमाले प्रवक्ता ज्ञवालीले दुई पक्षबीच छलफल भएको विषय स्वीकार गर्दै एकताको अन्तिम प्रयास जारी रहेको बताए। ‘एकताको अन्तिम प्रयासस्वरूप छलफल भइरहेको छ’, ज्ञवालीले भने, ‘सकेसम्म एकता जोगियोस् भन्नेमा हामी लागिरहेका छौं । नेतृत्व तहबाट अन्तिम समयसम्म जारी राख्नेछौं ।’ बैठकले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गरेको थियो। लुम्बिनीमा अन्तरघात भएको निश्कर्ष निकालिएको उनले बताए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
त्यस्तै आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन्। यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् ।
नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ । सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो।
संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए । राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ ।
‘अहिले नै परिणाम हात परेको छैन । हामी अझै आशावादी छौं। कहिलेकाहीं सडकको डिलमा पुगेको गाडीलाई ब्याक गरेर बचाउन सक्ने अवस्था हुन्छ। अहिले हामी दुवै नेता ब्याक हुनसक्ने अवस्था केके छन्, त्यसबारेमा छलफल गरिरहेका छौं’, संवादमा सहभागी एक नेताले भने । उनका अनुसार जेठ ९ गते मिलिसकेको कुराकानी बिग्रेकाले यसपटक वार्तारत नेताहरूले केके विषयमा छलफल भएको छ भन्ने जानकारी आफ्नो समूहका शीर्ष नेतालाई पनि गराएका छैनन् । उनीहरूले ‘कुराकानी हुँदैछ’ मात्रै भनिरहेका छन् ।
‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको तयारी रहेको स्रोतको दाबी छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिएका थिए । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालले भनेका थिए ।
स्रोत- नगरिक दैनिक