डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।
चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने कलंक वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्लुएचओको भनाई छ । भारतले आफ्नो देशमा गएको अक्टोबरमा पहिलोपटक भेटिएको कोरोना भाइरसको बी.१.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आपत्ति जनाएको थियो । तर डब्लुएचओले सो भेरियन्टलाई औपचारिक रुपमा भारतीय भेरियन्ट भनेको थिएन र पनि प्रयोगमा भने रहँदै आएको थियो ।
कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलंकित गर्न नहुने डब्लुएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताएकी छन् । उनले भेरियन्टमाथिको अनुगमन बटाउनु पर्ने र संक्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्ने पनि बताएकी छन् । भेरियन्टका नामहरुको पूर्ण सूचि डब्लुएचओले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ । नयाँ नामहरुले वैज्ञानिक नामलाई प्रतिस्थापित भने गर्ने छैनन् । सार्वजनिक रुपमा सहज प्रयोगका लागि नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।