च्याम्पियन्स लिगको फाइनल आज : कसले मार्ला बाजी, चेल्सी वा सिटी ?

युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आज (शनिबार) राति दुई प्रिमियर लिग क्लव म्यानचेस्टर सिटी र चेल्सी भिड्ने भएका छन् । पोर्चुगलको पोर्टोको मैदानमा हुने फाइनल खेल यूके समय बेलुका ८ बजेबाट सुरु हुनेछ । यो खेल सुरुवातमा टर्कीको स्तानबुलमा हुने भनिए पनि बेलायत सरकारले सो देशलाई रेड लिष्टमा राखेपछि पोर्टोमा सारिएको हो । पोर्चुगलले लगातार दुई सिजनको फाइनल गर्न लागेको हो । अघिल्लो संस्करणको फाइनल बेनफिकामा भएको थियो ।

क्लवको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी नयाँ इतिहास बनाउने लक्ष्यमा छ । फाइनल खेलमा १६ हजार पाँच सय दर्शकलाई मैदानमा प्रवेश गराइने भएको छ । जसमा आधा भन्दा बढि दुबै क्लवका समर्थक रहनेछन् । फाइनल खेलका लागि दुबै टिमका खेलाडी फिट रहेको भनिए पनि अन्तिम समयमा सिटीका मिडफिल्डर इल्के गुन्डोगनले चोट बोकेका छन् । प्रिमियर लिगमा यी दुई टिम अन्तिम पटक भिड्दा सिटीलाई चेल्सीले पराजित गरेको थियो । तर त्यसपछि चेल्सीले अन्तिम दुई खेलमा पराजित हुनुपरेको थियो । चेल्सीका प्रशिक्षक थोमस टुचेल लगातार दुई सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेका हुन् ।

यो फाइनलका लागि सिटीलाई बढि उत्साह र दबाव रहेको छ । यसअघि नकआउट चरण भन्दा अगाडि पुग्न नसकेको सिटीका प्लेमेकर केभिन डी ब्रुइनले यदि टिमले जित्यो भने खेलाडी हिरो हुने र हारेमा फेलियर हुने बताएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डियोला तेस्रो च्याम्पियन्स लिगको उपाधिको खोजीमा हुनेछन् । उनले बार्सिलोनाबाट सन् २००९ र २०११ मा यो उपाधि जितेका थिए । यता चेल्सीका प्रशिक्षक थोमस टुसेल पहिलो च्याम्पियन्स लिगको उपाधिको खोजिमा छन् । गत सिजनमा पीएसजीलाई फाइनलमा पुर्याएका टुचेलको टिम बार्यनसँग एक शुन्यले पराजित भएको थियो ।

फाइनल खेलको ९० मिनेटमा नतिजा नआएको खण्डमा अतिरिक्त समयमा खेल जानेछ । त्यसमा पनि रिजल्ट नआएमा पेनाल्टी सुटआउट हुनेछ । एक टिमले पाँच वटा सब्सिच्युट गर्न पाउनेछन् । यदि अतिरिक्त समयमा पुगेमा थप एक जना सब्सिच्युट गर्न पाइनेछ । फाइनलमा सिटी होम टिमका रुपमा खेल्नेछ । यो फाइनल खेल विश्वका २०० देशमा प्रशारण हुनेछ । फाइनल अगाडि १० मिनेटको उद्घाटन समारोह हुनेछ । अघिल्लो संस्करणको फाइनल बन्द रंगशालामा गरिए पनि यो पटक भने सिमित दर्शकलाई मैदानमा राखिने छ । जसमा चेल्सी र सिटीका समान ६–६ हजार दर्शकलाई मैदानमा प्रवेश गराइनेछ ।

च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लव खेल्न लागेको यो तेस्रो पटक हो भने पछिल्ला तीन सिजनमा दोस्रो पटक हो । सन् २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड खेल्दा चेल्सीले पेनाल्टीमा हारेको थियो । त्यसको ११ बर्षपछि २०१९ मा लिभरपुल र टोटनहम खेल्दा लिभरपुल दुई शुन्यले विजयी भएको थियो ।