जर्मन बुण्डेसलिगमा बायर्न म्युनिक च्याम्पियन, लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ । अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन् ।

जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दा पहिलो हाफमै बायर्न चार गोलले अघि रहेको थियो । दोस्रो हाफमा आन्द्रे हाहनले ६७ औं मिनेटमा गोल गर्दै आउग्सबर्गको खाता खोलेका थिए । त्यस्तै त्यस्तै फ्लोरिअनले ७१ औं मिनेटमा गोल थपे। उता बायर्नका लेवान्डोस्कीले खेलको अन्तिम मिनेटमा गोल थप्दै कीर्तिमान बनाए ।

लेवान्डोस्कीले गेर्ड मुलरको एकै सिजनमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पछि पारेका हुन् । खेलको ९० औं मिनेटमा गोल गरेसँगै यो सिजन ४१ गोल पुर्‍याएका पोलिस खेलाडी लेवान्डोस्कीले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । र, यो सँगै उनी जारी सिजनको पनि सर्वाधिक गोलकर्ता रहे । ‘म यो गोल मेरी आमालाई समर्पित गर्न चाहन्छु। आज उहाँको जन्मदिन हो ।’ खेलपछि प्रतिकृया दिँदै लेवान्डोस्कीले भने ।

लिगमा ७८ अंक जोडेको बायर्न च्याम्पियन बन्दा ६५ अंक जोडेको आरबी लाइपजिग दोस्रो, बोरुसिया डर्टमण्ड ६४ अंक जोडेर तेस्रो र वुल्भ्सबर्ग ६१ अंक जोडेर चौथो स्थानमा रहे । त्यस्तै तालिकाको पुछारमा रहेका वेर्डर बर्मिन र शाल्के रेलिगेशनमा परे ।