उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भोट हाल्न एमालेको ह्विप

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न निर्देशन दिएको छ । पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै वाग्मती प्रदेशअन्तर्गतको उपचुनावमा बादल जिताउन निर्देशन दिएका हुन् ।

“वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उमेदवार रामबहादुर थापामगर भएको जानकारी गराइन्छ । पार्टीको उमेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौँडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उमेदवारको चुनाव चिह्न सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु,” उनले भनेका छन् । उनले कोरोना पीसीआर टेस्टको प्रमाण अनिवार्य लिएर आउन पनि मतदाताहरूलाई भनेका छन् ।

यही जेठ ६ गते हुने उपचुनावमा गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा मैदानमा छन् । उनी विकेन्द्रीकरणविद् पनि हुन् । उनी नेता माधवकुमार नेपालनिकट हुन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला नेता नेपालको पनि उनलाई साथ थियो । झलनाथ खनाल र नेता नेपाल समूह अझै कसलाई मत हाल्ने भनेर निर्णयमा पुगिसकेको छैन । कार्यदल बनेर एमाले विवाद मिल्ने दिशातिर गइरहेका बेला खनाल–नेपाल समूह पनि निचोडमा पुग्ने बताइएको छ । वाग्मती प्रदेशमा एमाले एक्लैको ५१३० मतभार रहेको छ ।