प्रधानमन्त्रीको शपथविरूद्ध सर्वोच्चमा चार रिट दर्ता, पेशी भोली मंगलबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ। दर्ता भएको रिटमाथि मंगलबारलाई पेशी तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।
प्रधानामन्त्री ओलीले पुनःनियुक्त भएपछि वैशाख ३१ गते तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सो सपथमा ‘प्रतिज्ञा गर्दछु भन्ने वाक्यांश उच्चारण गर्न अस्विकार गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ दुईपटक सम्म उच्चारण गर्दा जवाफमा प्रधानमन्त्रीले त्यो पर्दैन भनेका थिए ।
‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ । सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन । यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ ।’ उक्त रिटमा भनिएको छ ।
रिट निवेदनमा शपथको शब्द उच्चारण नगरेर प्रधानमन्त्रीले विधिको शासनप्रतिको प्रतिज्ञा र जवाफदेहिता नमानेकाले त्यसलाई बदर गरिपाउँ र अर्को शपथ नलिएसम्म प्रधानमन्त्री पद यथास्थितिमा राख्न माग गरिएको छ ।