चेल्सीलाई हराउँदै लेस्टरले उचाल्याे पहिलाे पटक एफए कपकाे उपाधि

इङलिस एफए कपको उपाधि लेस्टर सिटीले जितेको छ । फाइनलमा चेल्सीलाई एक शुन्यले हराउँदै पहिलो पटक एफए कपको उपाधि उचाल्न सफल भयो । वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लेस्टरको जितमा बेल्जियन खेलाडी योउरी टिलीमान्सको एकमात्र गोल निर्णायक बन्यो । यो हारले च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको चेल्सीलाई धक्का लागेको छ ।

खेलको ४५ औं मिनेटमा लेस्टरका जिमी भार्डीले उत्कृष्ट मौका खेर फाले । उनले डिबक्सभित्र पाएको बललाई हेड गर्दा पोष्टको नजिकैबाट बाहिरीयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६३ औं मिनेटमा योउरीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । उनले ३० यार्डबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै खेलको ७२ औं मिनेटमा चेल्सीका मेसोन माउन्टलाई डिबक्समा लडाएपछि पेनाल्टीको अपिल गरेका थिए । तर रेफ्रीले त्यसलाई अमान्य गरे ।

खेलको ७७ औं मिनेटमा चेल्सीका डिफेन्डर बेन चिलवेलको हेडको प्रयासलाई लेस्टरका गोलकिपरले उत्कृष्ट बचाउ गरे । खेलको ८६ औं मिनेटमा चेल्सीका मेसोन माउन्टको उत्कृष्ट प्रहारलाई लेस्टरका गोलकिपरले विफल पारे । खेलको अन्तिममा चेल्सीका बेन चिलवेलले गोल गरेका थिए तर भिएआरको सहायतमा उनी अफसाइड देखिएपछि सो गोललाई मान्यता दिएन ।

त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र लेस्टरले ऐतिहासिक उपाधि हात पार्यो । प्रिमियर लिग खेल्ने क्लवमा एफए कप नजित्ने एक्लो क्लव रहेको लेस्टर अब विजेताको सूचीमा समावेश भएको छ । यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो ।

उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

अर्को लण्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने म्यानचेष्टर युनाइटेडले १२ पटक यस जितेको छ ।