ठाकुरले महतोलाई दलको नेता बनाएपछि यादव पक्षले बोलायो बैठक
जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद चर्कंदै गएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक भएको भोलिपल्ट अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
आज मध्याह्न १ बजे बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेम्जोङले जानकारी दिए । नेता चेम्जोङले सामसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुन लागेको बताए । बिहीबार ठाकुर पक्षका सांसदहरूले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि जसपा विवाद उत्कर्षमा पुगेको हो ।
१७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमै जसपा विभाजित थियो । यादव–भट्टराई पक्षका १५ सांसदले विश्वासको मतको विपक्षमा भोट दिए भने ठाकुर–महतो पक्षका १५ सांसद तटस्थ बसेका थिए ।