
राजनीतिको रियालिटीमा माइलेज लिँदै अभिनेत्री रिमा
‘जनताको घरदैलो उज्यालो बनाएका कुलमानको नेतृत्वमा अब देशको भविष्य उज्यालो बनाउनुपर्छ’
काठमाडौं : बर्दियाको गुलरियामा जन्मिएकी रिमा विश्वकर्मा बाल्यकालमै अभिनयमा प्रवेश गरेकी हुन्। उनी म्युजिक भिडियो हुँदै १४ वर्ष अगाडि फिल्म स्वरबाट ठूलो पर्दामा देखिइन् । सात वर्ष अगाडि आफ्नोसमेत लगानीमा कोहलपुर एक्सप्रेस बनाएर अभिनय गरेकी उनी त्यसयता फिल्ममा देखिएकी छैनन् । तर रियालिटी शोले उनलाई गुमनाम हुनबाट जोगाएको छ। नेपाल आइडलहुँदै कमेडी च्याम्पियनको होस्ट बनेकी उनी भिजिबल नै छिन् ।
फिल्मी अभिनयमा उनी त्यति जम्न सकिनन्। तर रियालिटी शोको होस्टको भूमिका भने उनलाई फापेकै देखियो । त्यही रियालिटी शोको होस्टमा जमिरहँदा उनी जेनजी आन्दोलनपछि फरक भूमिकामा देखिन थालेकी छिन् नेपाल उज्यालो पार्टीको केन्द्रीय सदस्य । यो पार्टीको नेतृत्वमा कुलमान प्रत्यक्ष संलग्न छैनन्। तर पार्टी उनकै हो। निर्वाचन आयोगमा दल दर्ता गर्दा नै रिमा तदर्थ समितिको केन्द्रीय सदस्यको रूपमा सक्रिय भइन्। बुधवारको पार्टी घोषणा कार्यक्रममा पनि उनी त्यही भूमिकामा देखिइन् ।
पब्लिक फिगरमार्फत पार्टीतिर ध्यान तान्न उनलाई राजनीतिमा कुलमानले स्पेस दिएका हुन् या राजनीतिक विषयमा रिमा पहिल्यैबाट इच्छुक हो त्यो खुलिसकेको छैन। तर उज्यालो नेपाल पार्टीमा कुलमानपछि रिमा नै भिजिबल छिन् । त्यसैले बुधवार केन्द्रीय सदस्य भए पनि उनले मञ्च पाइन् ।राजनीतिक रूपमा सचेत छिन् भन्ने उनको सम्बोधनबाट पनि देखियो । मिठो स्वरकी उनी बुधवारको कार्यक्रममा नेतृकै शैलीमा देखिइन्। कुन वाक्यमा कहाँ जोड दिएर बोल्ने,कहाँ कुन शैली अपनाउने यती ज्ञान भएरै उनी होस्टको रूपमा लोकप्रिय भएकी हुन् । बुधवारको उनको सम्बोधनमा पनि यी कता देखिए। उनले आफ्नो परिचित मुलायम शैलीको साटो नेपाली राजनीतिमा लोकप्रिय बन्दै गएको आक्रामक शैली अपनाइन् । जात, धर्म, लिङ्गको आधारमा हुने राजनीतिक विभाजन मात्रै हैन उनले जवाफदेही र जिम्मेवार राजनीति चाहिएको भन्दै कसको आदेशमा गोली चलेको हो थाहा छैन भन्ने गैर जिम्मेवार नेता अब नचाहिने भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि प्रहार समेत गरिन् ।
राजनीतिमा कलाकार, अझ विशेष अभिनेत्रीको प्रवेश नयाँ हैन । करिष्मा मानन्धरदेखि रेखा थापासम्मले रिलमा हैन रियलमै राजनीतिको अभ्यास गरे। रेखाले त आन्तरिक रूपमा दलभित्र नेतृत्वको प्रतिस्पर्धा गरिन् । संसदीय अभ्यास पनि गरिन्। तर दुबैमा असफल भइन्। राप्रपामा सक्रिय रहेकी उनी पछिल्लो समय रियल भन्दा रिलतिरै बढी व्यस्त देखिन्छिन् । करिष्माले नि राजनीतिको रहर गरिन् तर आफूलाई सक्रिय गराउन सकिन्न। एमालेमा प्रभाव बढाउन नामै करिष्माबाट सूर्यकुमारी बनाए पनि उनको जोड चलेन। अहिले रिल र रियल दुबैतिर गायब छिन् । लोडसेडिङ हटेको दिन कुलमानलाई अगुवा मानेको भन्दै उनले आफ्नो दलको नेतृत्वकर्ताको पक्षमा माहौल बनाउने प्रयास पनि गरिन् ।
जेनजी आन्दोलनपछि राजनीतिमा चासो बढाएका कलाकारमा उनी एक्ली पनि हैन। निशा अधिकारी मल्ल ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा सहभागी भएकी छिन् । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबाबु बस्नेतको अगुवाइमा खुलेको पार्टीमा सहभागी भए पनि निशा रिमा जस्तो राजनीतिमा भिजिबल हुन सकेकी छैन । मीन भाम नयाँ दलको लहरमा हैन, पुरानै दल नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय हुने प्रयासमा छन्। निश्चल बस्नेतलाई पनि राजनीतिको कुतकुती लागेको छ तर मैदान खुलाएका छैनन् ।
यो मानेमा रिमाले मैदान पनि छानिन् अनि सक्रिय पनि भइन्। गति ठिकठाक छ उनको। तर जसरी फिल्मको बक्स अफिस परीक्षण नभई फ्लप कि हिट भन्न सकिन्न त्यसरी नै राजनीतिको बक्स अफिस निर्वाचनमा मत परीक्षण नभई त्यसै भन्न सकिन्न ।
जे होस् रिमाले फिल्म रिलिज अगाडि माहौल बनाए जस्तै राजनीतिको माहौल भने राम्रै बनाइन्। अब परीक्षण प्रत्यक्षतर्फ उम्मेदवार बने फागुन २१ मै त हुने हो।



