एमडीएमएसमा भ्रष्टाचार प्रकारणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय झा र खनाल, निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसहित १९ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ९१ करोड ९८लाख ३० हजार ८८२ बिगो माग गरिएको छ ।

एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए । उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया, परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यसअघि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्राधिकरणबाट एमडीएससम्बन्धमा सुरूदेखि भएका नीतिगत निर्णय, खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यमाथि प्रश्न उठाउँदै कागजात झिकाएको थियो ।

नेपाल दूरसंचार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो । नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो ।