सन्दिप लामिछाने बलात्कार मुद्दामा दोषी, ८ वर्ष जेल सजाय

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर गरको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रमसमेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।’

पुस ८ देखि लगातार अन्तिम सुनुवाइ भएको मुद्दाको फैसलामा पक्ष र विपक्षका बयान, साक्षीका बयान र घटना विवरण, सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ । एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको ठहर अदालतले गरेको हो ।

जिल्ला अदालत काठमाडौंको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकील सरोजकृष्ण घिमिरेले बताएका छन् ।