काठमाडौं जिल्ला अदालतले आज सन्दिप लामिछानेलाई सजाय तोकिँदै

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले बुधबार उनीमाथि सजाय तोक्ने भएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रमसमेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।’

सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म’ कैद सजाय हुने व्यवस्था गरिएको छ । न्यूनतम ७ र अधिकतम १० वर्ष कैद सजाय निर्धारण गर्दा न्यायाधीशले करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेर्ने उल्लेख छ ।

पुस ८ देखि लगातार अन्तिम सुनुवाइ भएको मुद्दाको फैसलामा पक्ष र विपक्षका बयान, साक्षीका बयान र घटना विवरण, सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ । एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको ठहर अदालतले गरेको हो ।