बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।

सीआईबीले केही बेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ ।

रामबहादुर बमजनलाई सार्वजनिक गर्दै प्रहरी, त्यसपछि सर्लाही लगिने

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला चलाउँदै आएका रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दिउँसो सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ। उनलाई प्रहरीले मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । उनीविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबी स्रोतले बताएको छ। सर्लाहीकी रिता बोटलाई बेपत्ता पारेको बमजनमाथि आरोप छ ।

सिआइबीको टोलीले उनको घरबाट अहिलेसम्म तीन करोड ३ लाख रुपैयाँ बरामद गरेको छ। १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको हो । सिआइबी प्रमुख किरण ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । अहिलेसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् ।

तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो । ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् । बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् ।

बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् । बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ ।

आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ। उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो।