ताङतिङ मितेरी संघ युकेले गर्यो भव्य च्यारिटी डीनर नाइट सम्पन्न

इसेक्स क्याम्ब्रिज । ताङतिङ मितेरी संघ युके र ताङतिङ समाज युकेको संयुक्त आयोजनामा ताङतिङ मितेरी संघ युकेले अक्टोबर १४ तारिख २०२३ साल शनिबार क्याम्ब्रिज स्थित कारभर ब्यारेकको अफिसर मेसमा १६औ बार्षिकत्सब च्यारिटी डीनर नाइट (परोपकारी रात्रीभोज कार्यक्रम) भव्य रुपमा सम्पन्न गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचर्य र किर्तिमानी आरोही श्री हरि बुढामगरको प्रमुख उपस्थितिमा उक्त च्यारिटी डिनर नाइट सम्पन्न भएको थियो । कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ तथा त्यस वरपरका गाउँहरुको सहयोगका लागि सम्पन्न उक्त च्यारिटी डिनर नाइटको प्रबन्ध ताङतिङ मितेरी संघ युकेको अध्यक्ष पुर्ब डिस्ट्रिक्ट काउन्सिलर टिना नाइट, ताङतिङ समाज युकेको अध्यक्ष तर्कजङ गुरुङ तथा ताङतिङ समाज युकेको निबर्तमान अध्यक्ष काउन्सिलर लक्ष्य गुरुङले गरेको थियो ।

कार्यक्रममा महामहिम राजदुत ज्ञान चन्द्र आचर्यले ताङतिङ मितेरी संघको परोपकारी रात्रीभोजमा कार्यक्रममा सहभागी हुन पाउँदा खुशी ब्यक्त गर्नुहुँदै यस प्रकारको मितेरी सम्बन्धबाट र कार्यक्रमबाट नेपालको लागि सहयोग पुग्नेमा बिश्वास गर्नुभयो । बास्तबमा मितेरी संघ स्थापना गरेर एक अर्काको कला, संस्कृति, चालचलनको आदनप्रदानमा ठुलो सहयोग पुग्ने र दुबै पक्षको लागि फाइदा हुने कुरा बताउनुभयो । महामहिम राजदुतले ताडतिड मितेरी संघले ताडतिड गाउँ लगायत नेपालको बिभिन्न गाउँहरुमा शिक्षा र स्वस्थ्यमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रमका अर्का बक्ता हरि बुढामगरले शारिरीक रुपमा कमजोर देखिए पनि वहाँले कसरी किर्तीमान राख्न सफल भयो भन्ने उत्प्रेरक कुरा सुनाएका थिए । अफगानिस्तानमा २०१०मा सेवाको क्रममा घुँडाभन्दा तलको दुबै खुटा गुमाउन पुगेका हरिले कसरी निराशाबाट उठेर सगरमाथाको सफल अरोहण गर्न सकेँ भन्ने पे्ररणा मुलक जीवन कहानी सुनाएका थिए । हरिले आफुले सगरमाथा अहरोहण गर्नुको मुख्य कारण नाम कमाउनु भन्दा अपंगता भएका व्यक्तिहरुले पनि केही गर्न सकिन्छ भन्ने मनोबल सन्देश दिन र अपंगता विरुद्ध विभेद न्युनिकरण गर्ने सचेतना अभियान रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा कारभर ब्यारेकका क्याप्टेन डान फ्याब्रेस र लेप्टीनेन्ट कर्णेल हेविटले ताङतिङ मितेरी संघ युकेको प्रशंसा गर्दै संघको च्यारिटी डीनर कार्यक्रम कारभर ब्यारेकमा आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

ताङतिङ मितेरी संघ युकेका अध्यक्ष टिना नाइटले उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै कार्यक्रम सफल बनाउनुभएको धन्यबाद व्यक्त गर्नुभएको थियो । त्यस्तै ताङतिङ समाज युकेका अध्यक्ष तर्कजङ गुरुङले पनि उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै ताङतिङ मितेरी संघ युकेले ताङतिङको शिक्षा, स्वास्थ्य र समग्र बिकासमा पुर्याई रहेको योगदानप्रति अभार प्रकट गर्नुहुँदै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा राफल ड्र (चिठा) र अक्सन गरिएको थियो । कार्यक्रममा क्याम्ब्रिज वरपरको थुप्रै मितेरी मित्रहरु र अन्य नेपालीहरु उपस्थित थिए ।

स्मरण रहोस्— ताङतिङ मितेरी संघ युके बेलायत र नेपालका गाउँहरुबिच मीत लगाउने (भगेनी सम्बन्ध गाँस्ने) पहिलो संस्था हो, यसैको सिको गरेर पछिल्लो समय बेलायतका र नेपालका विभिन्न गाउँ तथा शहरहरुबिच मीत लगाउने प्रचलन बढेको छ ।

ताङतिङ मितेरी संघबारे थप जानकारी www.tangting.org बाट लिन सक्नुहुन्छ र सम्पर्कको लागि info@tangting.org मा इमेल गर्नसक्नुहुन्छ । २००७ सालमा स्थापना भएको ताङतिङ मितेरी संघ यूकेले ताङ्तिङको शिक्षा, स्वास्थ्य र समग्र बिकासमा आवश्यक सहयोग गर्दै आइरहेको छ ।