एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयाघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।
उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाएका थिए ।
नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए । उनी पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
नेम्वाङले इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए । अनेरास्ववियुमा आवद्ध भएर २०२९ सालदेखि उनी कम्युनिस्ट राजनीति सुरु गरेका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी जेल समेतपरेका थिए । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बनेका थिए। उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनः स्थापित संसदको सभामुख बनेका थिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए । उनले प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए । नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन् ।
एमालेका सबै कार्यक्रम स्थगित, उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालयमा राखिने
काठमाडौं : नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ । एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ४० बजे निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने ज्ञवालीले बताए। ‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ। हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १:४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ।’एमालेका कार्यवाहक महासचिव ज्ञवालीले भने,‘शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’
एमालेका नेताहरु अहिले शिक्षण अस्पतालमा रहेका छन् । उनीहरुले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासलमा लैजाने तयारीमा लागेका छन्। एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ । विदेशमा रहेका छोरा आएपछि नेम्वाङको अन्त्येष्टि हुने जनाइएको छ ।