किर्तीमानी गोर्खाकप- २०२३ भब्य सम्पन्न, यल्जी लायोन र हिमालयन एफसी बिजयी

बेलायत । गोर्खा कपको ईतिहासमा सम्भवत: सबैभन्दा बढी दर्शकहरुको उपस्थितिमा २१औ गोर्खा कप-२०२३ भब्य रुपमा सम्पन्न भएको छ । तमु धि यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम गोरखा कप २०२३ अल्डरसट स्थित कुइन्स एभेन्यु खेलकुद मैदानमा भब्य अनि सभ्य रुपमा सुसम्पन्न भएको छ । प्रतियोगितामा युथ तर्फ ३२, भेटरानतर्फ ८ र महिला २ टीम गरेर जम्मा ४२ टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा युथ तर्फ यल्जी लायोन, भेटरानतर्फ हिमायान एफसी र महिलातर्फ “म खेल्न सक्छु” यूके बिजयी भएका छन । युथ तर्फ दोस्रो प्लम्स्टेड एफसी र भेटरानतर्फ इन्टेक २००० दोस्रो भएका छन । त्यस्तै महिलातर्फ रन्डरबोल्ट्स एफसी यूके उपबिजेता बने । युथ तर्फ यल्जी लयोनका सौगात गुरुङ सर्बोउत्कृष्ट खेलाडी बने । त्यस्तै सर्बाधिक स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । त्यस्तै युथतर्फ उत्कृष्ट टिम म्यानेजर यल्जी लायोनका सोम गुरुङ घोषित भए । महिलातर्फको उत्कृष्ट खेलाडी सुष्मिता शाही भईन ।

उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरे । त्यस्तै भेट्रानतर्फ हिमालयन एफसीले विजेता बनेर १२ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरे प्राप्त गरयो भने दोस्रो भएका इन्टेक २००० ले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छन ।

त्यस्तै ठेलोमा मेनतर्फ पुन: निरज गुरुङ प्रथम र भेटरानतर्फ गोकुल गुरुङ प्रथम भई, २०० पाउण्ड नगद पुरुस्कार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई तमु धि यूकेका अध्यक्ष हरि गुरुङ तथा भुपु पदाधिकारीहरुले नगद पुरुस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । यसपटक गोर्खा कपको प्रमुख प्रायोजक वोर्ल्ड रेमिट मनी ट्रान्सफर यप रहेको थियो, बिजयी खेलाडीहरुलाई प्रायोजकहरुले पुरस्कारहरु प्रदान वा बितरण गरेका थिए ।

सधैंको जस्तो यसपटक पनि प्यारासुट डिस्प्ले, तमु (गुरुङ) परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल, सयपत्री कल्चरल ग्रुपको प्रस्तुति, चर्चित गायक धिरज राईले गीत गाएका थिए । राईले बुद्ध वाज बोर्न इन नेपाल गीत गाए ।त्यस्तै धौलागिरी नौमति बाजाल अतिथी र खेलाडीहरुलाई विशेष बाजाका साग आगमन गराएको थियो ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी रसमोर बरो मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । आफ्नो बरोमा बढ्दो नेपाली जनसंख्याले बेलायती समाज थप मजवुत बनेको उनले बताए । त्यस्तै, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै यस किसिमको कार्यक्रमले स्थानीय व्यापार प्रवर्धन गर्न टेवा पुगेको कुरा बताइन् ।

औपचारिक कार्यक्रममा तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्वपूर्ण योगदान गरेको बताए । त्यस्तै गुरुङले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे । उनले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी, चन्दादाताहरु, प्रायोजकहरु, मिडिया एवम् नेपाली समुदायलाई धन्यवाद ज्ञापन गरे । तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा गोर्खाकप संयोजक तथा तमुधिं यूके स्पोर्टस् सेक्रेटरी क्या. रि. दीपक घलेले स्वागत गरेका थिए । आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने बताएको छ ।

प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, ब्रिगेडियर पीएस रिहाल एमबीई, विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर दर्जाहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब १५० जति अतिथि थिए । कार्यक्रममा १६ वर्षमुनिका बेल्जियमको राष्ट्रिय खेलाडी गोरख घलेको उपस्थिति रहेको थियो ।

प्रवेश र टिकटको कठिन जिम्मेवार साउथईष्ट रेजिनल तमुधिंले निभाएको थियो । घमाइलो दिन बिहानदेखि नै भोलेन्टियरहरु खटिएका थिए । गोर्खा कपको ईतिहासमै सबैभन्दा बढी दर्शक ओइरिएको कुरा टिकट वितरणका संयोजक श्रीचन्द्र गुरुङले दाबी गरे । उनका अनुसार यसपटक पन्ध्र हजार बढी दर्शक आएको अनुमान गरे ।

त्यस्तै यसपटक बेलायत स्थित बिभिन्न नेपाली ब्यपार ब्यवसायीहरुले अ-आफ्नो स्टल राखेका थिए । कार्यक्रम स्थलको स्टल ब्यवस्थापक सफल ब्यवसायी तमु धि यूकेको उपाध्यक्ष कमल कोने गुरुङ अनुसार आफ्नो संयोजनमा यसपटक गोर्खा कपको इतीहसमै सबैभन्दा बढी स्टलहरु राख्न सफल भएको कुरा बताए । इभेन्टमा हस्तकला, नेपाली पोशाक, खाना, च्यारिटी आदि गरि झण्डै ८२ स्टल थिए र स्टलमा ग्राहकहरुको एकदमै घुइचो रहेको थियो । कमल गुरुङ अनुसार यसपाली गोर्खा कपमा स्टल राखेका ब्यपारीहरुको ठुलो मात्रामा ब्यापार पनि भएको दाबी गरे ।

यसर्थ: २०२३को गोर्खाकप धेरै किसिमले किर्तीमानी रहयो ।

फोटो सौजन्य- एस के गुरुङ, मिडीया सेक्रेटरी तमु धि यूके तथा ईन्द्र घोथाने, खबर यूके ।