दुवै खुट्टा गुमाएका किर्तिमानी हरि बुढामगरलाई सगरमाथाको सफल अरोहणपछी भब्य स्वागत

काठमान्डौ । दुबै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल अरोहण गरेर किर्तिमान कायम गरेर आज काठमाण्डौ फर्केका छन । गएको शुक्रबार दिउँसो सगरमाथा सफल आरोहण गरेर आज काठमाडौं फर्केका बुढामगरलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनी बिहान १०:३० मा काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई त्रिभुवन बिमानस्थलमा ठुलो जनसमुदयाले भब्य स्वागत गरेका छन । उनको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत त्रिभुवन विमानस्थल पुगेका थिए ।

बुढा सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड बनाएका छन् । कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । आरोहणको जनसम्पर्क अधिकृत हिम विष्टका अनुसार मगरको टोलीले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए । संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए ।

उनले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गर्दैछन् ।