२१ औ गोर्खा कप-२०२३ को सम्पूर्ण तयारी पुरा
मेचेट, ह्याम्पसायर । तमु धि यूकेले हरेक बर्ष आयोजना गर्ने यूकेमा नेपालीहरु सबैभन्दा ठुलो खेलकुद कार्यक्रम “२१औ गोर्खा कप”को सम्पूर्ण तयारी पुरा भएको कुरा आयोजक तमु धि यूकेले जानकारी गराएको छ । मे महिनाको बैंक होलिडे पारेर आयोजना गर्ने गरेको गोर्खा कप-२०२३ अगामी हप्ता मे २८ तारिख नियमित स्थान अल्डर्सट स्थित क्विन्स एभेन्यु स्पोर्टस फिल्ड आयोजना हुँदैछ ।
तमु धि यूकेले आज क्यम्बर्ली मिचेट स्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी गोर्खा कप २०२३ को सम्पूर्ण तयारी पुरा भएको कुरा जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दीपक घलेले युवातर्फ ३२, भेटरान तर्फ १० र महिला तर्फ २ टीम गरी जम्मा ४४ टीमले खेलमा प्रतिस्पर्धा गर्ने कुरा जानकरी गराउनु भयो । यस पटक भेटरानतर्फको खेलमा प्रतिस्पर्धा गर्न नेपालबाट पनि टीम बेलायत आएको कुरा आयोजकले जानकारी गराएको छ । नेपालबाट पूर्व राष्ट्रिय खेलाडी तथा प्रथम श्रेणीका प्रशिक्षक राजेन्द्र तमाङको टीमले भेटरान तर्फ प्रतिस्पर्धा गर्नेछन । नेपाली टिमलाई तमु धि यूके र बगर भाईखलकले प्रायोजन गरेका हुन ।
प्रतियोगिताको मुख्य तथा भेट्रान दुवै विधामा पहिलो हुने टिमलाई नगद २५ सय तथा दोस्रो हुने टिमलाई नगद १५ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । दुवै विधामा अधिकतम गोल गर्ने खेलाडी र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । यस पटकको गोर्खा कप—२०२३को प्रमुख प्रायोजक “वल्ड रिमिट” रिमिट्यान्स एप अर्थात मनी ट्रान्सफर एप रहेको छ । उक्त एपले ३५ सय पाउन्ड नगद र १५ वटा प्लेबल प्रायोजन गरेको छ ।
स्थानीय रसमोर काउन्सिलको मेयर प्रमुख अथिती हुने उक्त कार्यक्रममा नेपाली राजदूतावास लण्डनबाट पनि प्रतिनिधिहरु उपस्थित हुने कुरा आयोजक तमु धि यूकेले जानकारी गराएको छ । कार्यक्रममा बेलायतका राजपरिवारका सैनिक प्रतिनिधि, ब्यवसायीक फुटबल खेलाडी मास्टर गोरक घले, बेलायतका लागि मिलिटरी एट्याची ब्रिगेडर जनरल रत्न बहादुर गोधर लगायतका बिभिन्न संघसस्थाका डेढ सय जना अतिथिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । खेल शुरु हुनु अघि नेपाली सांस्कृतिक कार्यक्रम तथा प्याराजम्प आदि प्रस्तुत गरिने कुरा आयोजक तमु धि यूकेले जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा तमु धिं यूके अध्यक्ष हरि गुरुङले गोर्खाकपको सफलतासंग बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि अनुरोध गर्नुभयो । खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेले पहिला पहिला आफु गर्ने स्थानमा रहेको र अहिले गराउनु वा अर्हाउनु पर्ने स्थानमा रहेको हुँदा कत्तिको जिम्मेवार महसुस गर्नुभएको छ ? भनी सोधेको प्रश्नको जवाफमा जिम्मेवारी ठुलो हुँदाहुँदै पनि सबैको साथ र सहयोगले गर्दा कार्यक्रम सफल हुनेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो । त्यस्तै गोर्खाकपको प्राय कार्यक्रमहरु एकनासे (सधैं उस्तै कार्यक्रमहरु) भएको देखियो केही परिवर्तन र नयाँ कार्यक्रमहरु छन कि भन्ने प्रश्नको जवाफमा आयोजकले आफुहरुले परिवर्तन (नयाँ कार्यक्रमहरु गर्न खोजे) पनि बिभिन्न नियम कानुन र ब्यवस्था कारण परिवर्तन गर्न नसकिएको कुरा बताउनुभयो ।
अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको सुरक्षा व्यवस्थाको लागि स्थानीय प्रहरीसंग छलफल भएको वताउँदै संयोजक घलेले सो दिन दुई दर्जन भन्दा बढी प्रहरी टोली सुरक्षाको लागि खटाइने जानकारी दिनुभयो । कार्यक्रम स्थलमा उक्त दिन नेपाली खानाको स्टल तथा बिभिन्न नेपाली ब्यापार ब्यवासायीहरुको स्टल, नेपाली भेषभुषा प्रमुख आर्कषण रहने कुरा बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो भने गोर्खा कप-२०२३को टीम ड्रका लागि साहरा यूकेका निबर्तमान अध्यक्ष कुमार गुरुङ र बर्तमान अध्यक्ष कुलसङ गुरुङले सहयोग गरेका थिए । अध्यक्ष हरि गुरुङले ड्र गरेका थिए । टिम ड्र सम्बन्धित टिमलाई आजै जानकारी गराइनेछ ।
कार्यक्रममा तमुधीं युकेका पूर्वअध्यक्षहरु, संस्थाका आजिवन सदस्यहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थिति थियो । पत्रकार सम्मेलनको संयोजन तमु धि यूकेका मिडिया संयोजक एस के गुरुङले गर्नुभएको थियो ।