सरकारले राम्रो काम गरे रास्वपा सदैब सहयोग गर्छ : सभापति लामिछाने
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज (शनिबार) यहाँ रास्वपा सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रूपमा उभिने बताउनुभयो ।
सभापति लामिछानेले भन्नुभयो, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नुस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नुस्, दोषीमाथि कारबाही गर्नुस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौँ ।”
उहाँले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भुटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरूको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाउनुभयो ।
रास्वपाका केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको भन्दै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताउनुभयो ।
मदन राईसँग पार्टीको कुनै सम्बन्ध छैन : रास्वपा
काठमाडौं, वैशाख ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले किशोर किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोर किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।
“राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ”, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, राईले किशोर किशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।
रासस