रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। तर रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।

पार्टी सभापति रवि लामिछानेले पनि सांसदको शपथ लिएको बेला सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका थिए । उनले भनेका थिए, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ।’

सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौं- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन् ।शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले आफूहरू पार्टी र संगठन निर्माण र रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका हुन् ।

‘हामीले जनभावना र जनमतको कदर गर्नु पर्ने हुन्छ । यो पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश शुभचिन्तकको चाहना यही थियो कि सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह र पार्टी संगठनलाई सशक्त बनाएर लानुपर्ने हामीलई म्यान्डेट प्राप्त भयो,’ उनले भने, त्यही अनुरूप हामी अगाडि बढ्छौं ।’ एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै आफूहरू त्यही अनुरूप अघि बढ्ने उनले बताए ।

यो कार्यकाल तपाईंहरू सरकार बनाउने/भत्काउने खेलमा लाग्नु हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी त्यो खेलमा लाग्दैनौं तर खेलले कुनै रूप लियो भने हामीले पहिला पनि भनेका थियौं एउटा राजनीतिक दल अस्थिरता चाहँदैन। सत्ताका लागि जे पनि गर्ने भयो भने जनभावनाको अपमान हुन्छ।’ सरकारलाई समर्थन गरेको बेला न्यूनतम साझा कार्यक्रममा आफूहरूको एजेन्डा हटाएको भन्दै रास्वपाले आपत्ति जनाएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी मिशन ८४ मा लाग्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका छन् । पार्टी कार्यालयमा शुक्रबार भएको संयुक्त बैठकले जनताको म्यान्डेटअनुसार प्रतिपक्षमा बस्ने निर्णय भएको उनको भनाइ छ । ‘उपनिर्वाचनमा जनताले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेड दिएको छ । जनताको जनभावनाअनुसार द्रूत गतिमा अगाडि बढ्छौं,’ उनले भने, ‘पहिलो रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र दोस्रो, संगठन विस्तारमा लाग्ने ।’

उनले यसअघिको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम जनभावना अनुसार भए पनि अहिले त्यो नरहेपछि प्रतिपक्षमा आउनुपर्ने स्पष्ट पारे । उनले पार्टी अब मिशन २०८४ मा लाग्ने बताए । ‘हामी अरु कुराभन्दा पनि मिशन २०८४ अभियानमा लाग्नेछौं। त्यसका लागि संगठन विस्तार अभियानमा जुट्नेछौं। जनताको भावनाअनुसार काम गर्नेछौं ।’

टोपबहादुरबारे रविको टिप्पणी : हेर्दाहेर्दै हराउनुभयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको बताएका छन् ।

सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो कामलाई स्वागत गर्ने बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने । तर यो प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी रहेको उनले बताए। ‘जति तान्दा पुग्छ, त्यति मात्रै जाने हो कि’, लामिछानेले आशंका गरे । नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ ।

‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू गृहमन्त्री हुँदा चार/पाँच चरणमा कुरा भएको उनले बताए ।

प्रदेश संरचना नेता व्यवस्थापन गर्ने ठाउँजस्तो भयो : रवि लामिछाने

‘प्रदेश संरचनाले कहीँ पुगिदैन । प्रदेश नेता व्यवस्थापन गर्ने ठाउँ बन्न पुगेको छ । हामीले संघीयता खारेजभन्दा पनि यस विषयमा बहस सिर्जना गर्न खोजेका छौं। हामीले सुनिरहेका छौं। सरकार बनेको छ । ढलेको छ। सपथ लिने । विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ। के बनाइएको हो यस्तो?,’ उनले प्रश्न गरे । उनले पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेकाले रचनात्मक भूमिका निर्वाह गर्ने बताए । तर सरकारको नेतृत्व गर्ने अवसरमा पाए त्यसलाई सदुपयोग गर्ने बताए ।

‘सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैनौं । तर खेलले कस्तो भूमिका खेल्छ भन्ने पनि छ। हामी बेन्चमार्कभित्र रहेर निर्णय गर्छौं,’ उनले भने, ‘देशमा अस्थिरता ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो । स्थिरताका लागि प्रधानमन्त्री बन्न परे पछि हट्दैनौं ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साविककै मन्त्रालय दिने प्रस्ताव गरेको स्वीकारे। ‘उहाँ(प्रचण्ड)हरूलाई सरकारमा आइदिए हुन्थ्यो भन्ने थियो । साविककै मन्त्रालय दिन पनि उहाँहरू तयार हुनुहुन्थ्यो । तर न्यूनतम साझा कार्यक्रममा अघिल्लो सरकारले ल्याएका कुराहरू समेटिएन । त्यहाँ जनताका लागि गर्ने धेरै कुरा थिए,’ उनले भने ।