नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको भएपनि कारबाही होस् : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागार हुँदै गएको भन्दै घटनाबारे गहिरो अनुसन्धान हुनुपर्ने बताएका हुन् । उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भन्द यो घटना नभइ प्रवत्ती भएको बताएका छन् । नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसेका छन् । जसमध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे,प्रतिनिधिसभा सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । प्रहरीले आजै रायमाझीका छोरालाई पक्राउ गरेको हो । यस्तै इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर ,उनी फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी, कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ,सागर राई र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुईजनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा उनीहरू प्रक्राउ परेका हुन् ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ । भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो ।