प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गर्दा रास्वपाले पुरानो मन्त्रालयबारे सोधे

काठमान्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् ।जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल सरकारमा आउने पक्षमा नरहेको बताएका थिए । यद्यपि, आफूहरूले पहिला लिएको मन्त्रालयबारे भने उनले जिज्ञासा राखेका थिए ।

‘खास त मलाई प्रधानमन्त्रीले बधाई दिन बोलाउनुभएको हो। त्यसमा समसामयिक राजनीतिबारे कुराकानी त हुने नै भयो,’ आइतबार साँझ लामिछानेले सेतोपाटीसँग भने,‘उहाँले सरकारमा आएर सँगै काम गर्न पाए हुन्थ्यो भन्नुभयो । त्यस्तो सोच त हाम्रो छैन । पार्टी निर्माणमै बढी जोड लगाउने भन्ने छ भनेर मैले भनें ।’ आफूहरू सरकारमा रहेका बेला जारी भएको न्यूनतम साझा कार्यक्रमका विषय हटाइएकोमा लामिछानेले चासो व्यक्त गरेका थिए। अहिलेसम्म सरकारले लिएको गति र मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयमा धेरै प्रश्न उठेको समेत उनले बताएका थिए ।

‘हामीले सरकारमा जान चासो राखेका छैनौं । तपाईंले भनेपछि हामी छलफल गरौंला तर अलि समय हेर्छौं भनेर भनेको छु,’ उनले भने, ‘भर्खरै चुनावबाट आएका छौं, सरकारमा हाम्रो पोर्टफोलियो के हो त भनेर सोध्ने कुरा स्वभाविक भयो। हाम्रो पुरानो मन्त्रालय के हुन्छ? भनेर सोध्ने कुरा भइहाल्यो ।’ रास्वपा सभापति लामिछानेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले रास्वपाले पहिला पाएका मन्त्रालयबारे सल्लाह गरौंला भनेका थिए ।

पुस ११ गते लामिछाने गृहमन्त्री बनेका थिए। त्यतिबेला रास्वपाका तर्फबाट गृहसहित ३ मन्त्री र १ जना राज्यमन्त्री बनेका थिए । रास्वपाका तर्फबाट लामिछानेसहित शिशिर खनाल शिक्षामन्त्री र डोलप्रसाद अर्याल श्रममन्त्री बनेका थिए । त्यस्तै तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । नागरकिता प्रकरणमा माघ १३ गते लामिछानेको पद गएपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट लामिछाने चितवन क्षेत्र नं २ बाट फेरि विजयी भएका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा रास्वपाकातर्फबाट स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाका २१ सांसद छन् । ‘सरकारमा जाने विषयमा हाम्रो चासो एकदमै कम छ। लगभग छैन भन्दा पनि हुन्छ । राजनीतिमा नो भन्ने हुँदैन तर हाम्रो चासो सरकारमा जाने छैन,’ लामिछानेले भने ।