रास्वपाले ढाकाकुमार श्रेष्ठलाई निष्कासन, विन्दबासिनी कांसकारलाई सांसद बनाउने निर्णय

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिए । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।

रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँले कोर टिम भन्नुभएको छ । त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौं ।’

नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको प्रतिक्रिया दिएका थिए ।