बागदरबार र सिंहदरबारबिच सम्बाद गर्न गगन थापाले प्रधानमन्त्रीलाई अनुरोध

‘बिलम्ब नगरी, आग्रह नराखी काठमाडौं महानगरसँग छलफल गरियोस् । संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो कायम गरियोस्’

काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग संवाद गरेर फोहोर नउठ्ने समस्या समाधान गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सिंहदरबार, बालुवाटार, शीतलनिवासलगायतको फोहोर नउठाउन निर्देशन दिएपछि काठमाडौं ४ का सांसद थापाले प्रधानमन्त्री दाहालसँग वार्ताको आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा थापाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न भूमिका निर्वाह गर्नका लागि पनि आग्रह गरेका छन् ।

‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । निर्वाचित जनप्रतिनिधि स्थानीय सरकारको प्रमुखले आफ्नो अहसमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली प्रयोग भएको भाषा लवज ठीक वा बेठीक यसका बारेका बहस हुन सक्ला बहस गरौंला,’ उनले भने, ‘अहिलेलाई प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कुनै बिलम्ब नगरी, आग्रह नराखी काठमाडौं महानगरसँग छलफल गरियोस् । संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो कायम गरियोस्, जायज माग पूरा गरियोस् । हामी काठमाडौंका जनप्रतिनिधिलाई पनि त्यसमा सहभागी गरियोस् ।’

थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्नका निम्ती प्रधानमन्त्रीले आजै पहलकदमी लिन आग्रह गरेका हुन् । उनले तत्कालका लागिय उक्त विषय टुंगो लगाएर दीर्घकालीन समस्या समाधानका लागि कानुन निर्माण गर्ने र संयन्त्र परिचालन तथा क्रियाशील गर्नुपर्ने पनि बताए ।

स्थानीय तह, प्रदेश र संघबीच समन्वय हुनुपर्ने थापाको भनाइ थियो । उनले तीन तहका सरकार समन्वयमा चल्नुपर्ने पनि बताए । ‘अन्तर प्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद्, विषयगत समिति लगायतका यी सबै समिति संयन्त्र सक्रिय रहनुपर्छ । अहिले हामीले हेर्‍यौं भने प्रधानमन्त्री अध्यक्ष रहेको अन्तर प्रदेश परिषद् बैठक २०७६ सालदेखि बस्न सकेको छैन । राष्ट्रिय समन्वय परिषदले त अहिलेसम्म पूर्णता पनि पाएको छैन । मन्त्रीहरूले नेतृत्व गर्नुपर्ने कतिपय संयन्त्रहरूको बैठकै बसेको छैन,’ उनले भने ।