आजदेखि माध्यमिक शिक्षा एसइइको परिक्षा शुरु, ५ लाख १४ हजार बढी विद्यार्थी सहभागी
भक्तपुर- आज देखि एसइइ परिक्षा देशभर शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा गरेको छ । परिक्षा अहिले बिहान ८ बजे देखि सञ्चालन हुनेछ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी हिजै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उनले जानकारी दिए । नियन्त्रक रेग्मीले भने–“जिल्ला जिल्लाबाट शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको छ, परीक्षा केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगिसकेका छन् ।” परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदैछन् । जसका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।
साधारण तर्फको परीक्षा १७ गते सम्म र प्राविधिक तर्फको परीक्षा २० गते सम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ । जस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ । अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।
रासस