उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा दिने रास्वपा नेताहरू बताउन थालेका छन् । करिब ८ महिना अगाडिमात्रै गठन भएको यस पार्टीले गत संसदीय चुनावमा आश्चर्यजनकले २० सीट जितेर चौथो दलका रूपमा स्थापित भएको थियो । तर, चुनावपछि पार्टीको क्रेज बिस्तारै कम हुन थालेका बेला उपनिर्वाचन अगाडि फेरि यसले ठूला दलहरूलाई अत्याइदिएको हो ।
चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि रास्वपाले भित्रभित्रै तयारी गरिरहेको थियो । हिजो एकाएक डा. स्वर्णिम वाग्लेको नाम चर्चामा आयो । उक्त चर्चाको आधिकारिक पुष्टि गर्दै पार्टी प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले राति अबेर विज्ञप्ति प्रकाशित गरे । उक्त विज्ञप्तिमा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न दाबी प्रस्तुत गरेकाहरूको सूची थियो ।
उक्त सूचीमा तनहुँ १ मा स्वर्णिमसहित ३ जनाको नाम थियो भने बारा २ मा दुईजनाको नाम थियो । बारा २ का दुई आकांक्षीमध्ये एक रमेश खरेल थिए । तर, के उनी पूर्व डिआईजी खरेल नै हुन् वा अरु कसैसँग नाम मिलेको हो ? त्यतिबेलासम्म पार्टीका सिनियर नेताहरू नै अनभिज्ञ देखिए । केन्द्रीय समितिका एक प्रभावशाली नेतालाई प्रश्न गर्दा उनी आफैं अलमलमा परे । ‘उहाँ पार्टीमा आउने कुरा त मलाई थाहा थिएन, सायद अरु कोही हुनुपर्छ’, उनले भने । यस विषयमा थप बुझेर जानकारी दिने ती नेताले बताए । एकछिनपछि कल गर्दा उनले पुष्टि गरे, ‘पूर्वडीआईजी रमेश खरेल नै हुनुहुँदो रहेछ ।’
खरेलसँग रास्वपा सभापति आफैंले कुराकानी अगाडि बढाइरहेका थिए र सीमित नेतालाई मात्रै यसको जानकारी थियो । जे भए पनि अहिले उपचुनावमा उनी उठ्ने समाचारले पार्टीभित्र खुशीयाली छाएको छ । प्रवक्ता डा. ढकाल भन्छन्, ‘चितवनसँगै तनहुँमा पनि हाम्रो जित सुनिश्चित छ । बारामा पनि हामीले कडा टक्कर दिनेछौं ।’
चितवनमा रवि लामिछानेले यसअघि भारी मतान्तरले जितेका थिए । उनले ४९ हजार २६१ मत ल्याउँदा मुख्य प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठको मत १५ हजार ९९ मात्र थियो । यसपाली पहिलेको भन्दा पनि ठूलो मतान्तरले जित्ने दाबी रास्वपा नेताहरू गर्छन् । यद्यपि, अन्य पार्टीहरूले चाहीँ यसपालि उलटफेर हुने दाबी गर्दै आएका छन् । लामिछानेले यसअघि पाएको भोटलाई ‘खहरे भेल’ भन्दै उनीहरूले अब त्यो नदोहोरिने बताइरहेका छन् ।
चितवनमा कांग्रेसले स्थानीय नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । उनलाई सत्तारुढ गठवन्धनको समर्थन प्राप्त हुनेछ । एमालेले आफ्नो उम्मेदवार तय गरिसकेको छैन । यता बारा २ को भिडन्त निकै रोचक हुने देखिएको छ । यहाँ पहिल्यै तीनजना हेभिवेट उम्मेदवारहरू खडा भइसकेकोमा अब खरेल पनि थपिएका छन् । खरेलले जितका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतो र जनमत पार्टीका शिवचन्द्र प्रसाद कुसवाहलाई पन्छाउनुपर्ने हुन्छ । यो क्षेत्रमा कसले चुनाव जित्छ भन्न नसकिने अवस्था छ ।
खरेललाई बारामा सजिलो चाहीँ छैन । अघिल्लो संसदीय चुनावमा यहाँ रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारी नै दिएको थिएन भने समानुपातिकमा पनि न्यून मत ल्याएको थियो । एमाले समर्थित उम्मेदवार रामसहायप्रसाद यादवले १३ हजार ८२३ भोट ल्याएर जितेका थिए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए । उनै कुसवाह अहिले जनमतमा प्रवेश गरेर फेरि उम्मेदवार बन्न लागेका हुन् ।
तनहुँ १ को कुरा गर्दा यो राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ हजार ३१३ मत ल्याएर विजयी भएका थिए । प्रमुख प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९९२५ भोट ल्याएका थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई उम्मेदवार बनाएको थियो । उनले ६ हजार ३२ भोट ल्याएर चौंथो भएका थिए ।
तनहुँ १ मा रास्वपाको समानुपतिक मत राम्रो छ । त्यो मतमा डा. स्वर्णिम वाग्लेको व्यक्तिगत प्रभाव र लोकप्रियताको मत थपिने हुँदा रास्वपाले जितको दावी गरेको हो । यस क्षेत्रमा गठवन्धनका तर्फबाट कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँदैछ । राष्ट्रपतिले छोडेको निर्वाचन क्षेत्र भएको हुँदा तनहुँ १ कांग्रेसका लागि प्रतिष्ठाको विषय रहने छ ।
रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
रास्वपाले चितवन क्षेत्र नं २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा.स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे तथा बारा क्षेत्र नं २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले बताए । सो पार्टीले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय आज दिउँसो ११ बजेसम्मका लागि तय गरेको प्रवक्ता डा.ढकालले बताए ।
रासस