कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा, रास्वपाबाट तनहुँ १मा उप-चुनाव लड्ने आकलन

काठमाडौँ – डा. स्वर्णिम वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । तनहुँ १ बाट उपचुनावमा स्वतन्त्र पार्टीबाट लड्न प्रस्ताव पाएका वाग्लेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् । उनले कांग्रेस नेतृत्वबाट कार्यकर्ताको शिर निहुरिने काम भएको आक्षेप लगाएका छन् ।

वाग्लेले भनेका छन्, ‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

यस्तो छ वाग्लेले फेसबुकमा लेखेको स्ट्याटस

वि.स. २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतस् योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर यो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो ।

जय नेपाल ।

स्वर्णिमको सन्देशः देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन

नेपाली कांग्रेसका समर्थक युवा नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसमा रहन सक्ने अवस्था नरहेको भन्दै कांग्रेसका ४ जनाहरुलाई मार्मिक सन्देश पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका तर्फबाट तनहुँ उपनिर्वाचनमा उम्मेदवार बनाउन प्रस्ताव गरेपछि उनले बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेलको मोबाइलमा सन्देश पठाएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले यसअघि स्वर्णिम वाग्ले रास्वपाबाट उपनिर्वाचनमा चुनाव लड्न सकारात्मक रहेको नागरिक न्यूजलाई बताएका थिए ।

शेखरलाई स्वर्णिमको सन्देश : तपाईँसँगको मित्रता कायम राख्दै पार्टी छाड्ने निर्णय गरेँ

त्यस्तै उनले डा. शेरखर कोइरालालाई सन्देश पठाउँदै आफूले कांग्रेस छाडेको बताएका हुन् । उनले कोइरालालाई सम्बोधन गर्दै अपार सद्भावका बावजुद निरन्तर हेपाइ र अपमानले पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् । उनले जहाँ रहे पनि आत्मीय मित्रता कायमै राख्ने सन्देशमा उल्लेख गरेको स्रोतले बताएको छ ।

‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुन्थ्यो। त्यसपछि छोड्दा अवज्ञा गरेकोजस्तो हुन्थ्यो,’ सन्देशमा उनले भनेका छन्, ‘कांग्रेसमा हजुरहरूको निर्णयाक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनैरूपमा जोडिनसक्ने आशा छ।’

तनहुँ १ मा उम्मेदवार बन्ने कुरामा स्वर्णिम वाग्ले सकारात्मकः रास्वपा प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँ उपनिर्वाचन क्षेत्र न. १ को उम्मेदवार बनाउन पहल गरिरहेको छ। वाग्लेले सकारात्मक जवाफ दिएको रास्वपाले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री वाग्लेलाई तनहुँ उपनिर्वाचनमा उठाउन पहल भइरहेको जानकारी दिएका हुन । ‘हामीले उहाँलाई यस बिषयमा एप्रोच गरिरहेका छौं। उहाँ धेरै सकारात्मक हुनुहुन्छ’, उनले भने ।

प्रवक्ता ढकालका अनुसार रास्वपाको निर्वाचन आयोगमा छलफल भयो। छलफल पनि वाग्लेलाई एप्रोच गर्ने निर्णय भयो। ‘हामीसँगको छलफलमा उहाँ सकारात्मक हुनुहुन्छ। उहाँले उम्मेदवारका लागि हाम्रो आयोगमा पहिला निवेदन दिनुपर्छ। त्यो वातावरण हामी बनाउँछौं’, उनले भने । प्रवक्ता ढकालले पार्टीको निर्वाचन आयोगले नै उहाँसँग छलफल गरिरहेकाले उम्मेदवार बनाउन कुनै समस्या नरहेको बताए । मंसिर ४ को निर्वाचनको कांग्रेस घोषणापत्र बनाउने काममा वाग्ले सहभागी भएका थिए ।

स्वर्णिम वाग्लेलाई गत मंसिर ४ कै निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन–२ बाट उम्मेदवार बनाउने चर्चा भएको थियो । पछि कांग्रेसका नेताहरुको आन्तरिक विमतिका कारण त्यो चर्चा त्यत्तिकै तुहियो । प्रधानमन्त्री देउवाले वाग्लेलाई उम्मेदवार नबनाएर राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. विश्व पौडेललाई उम्मेदवार बनाएका हुन। तनहुँ १ का तत्कालिन सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।