चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचन्ड

काठमाडौँ — प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबी उनको छ । प्रधानमन्त्री दाहालले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो–जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दि भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । जति भयो त्यो चाहिँ पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए । उनले भने, ‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ ।