उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो ।

जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गर्नुभयो । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ । यादवको कुल मतभार संघमा १४ हजार ५३६ र प्रदेशतर्फ १५ हजार ७९२ सहित ३० हजार ३२८ रहेको छ । शाक्यको संघतर्फ आठ हजार २१६ र प्रदेशतर्फ आठ हजार २१६ गरी कुल मतभार १६ हजार ३२८ छ ।

झाको संघमा एक हजार ८१७ र प्रदेशतर्फ ७२० गरी कुल मतभार दुई हजार ५३७ छ । यसैगरी प्रमिला कुमारीको कुल मतभार ४८ रहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ ।

उपराष्ट्रपति पदमा निर्वाचित यादव बाराको सिम्रैानगढ नगरपालिका–९, बसरियाको स्थानीय हुनुहुन्छ । उहाँ मधेशकेन्द्रित दल मधेशी जनअधिकार फोरम, सङ्घीय समाजवादी फोरम हुँदै मधेश आन्दोलनमा सक्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । २०६५ सालदेखि जनता समाजवादी पार्टीको महासचिव पदमा नेतृत्वमा रहनुभयो ।

उहाँ २०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट सांसद बन्नुभयो र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुनुभयो। यादव गत मङ्सिर ४ मा बारा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद हुनुभएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम उपराष्ट्रपति पदमा निर्वाचित हुनेको सांसद पद भने स्वतः रिक्त हुने व्यवस्था छ । ५२ वर्षीया यादव बुवा प्रसादराय र आमा सिहवा देवीको छोरा हुनुहुन्छ। यादवले २०६२/६३ को दोस्रो जनआन्दोलन र २०६४ को मधेश आन्दोलनको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै नेपाली राजनीतिको नेतृत्व तहमा रहेर सहकार्य गर्दै आउनुभएको छ । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।