पत्रकार सम्मेलनमा पूर्वमन्त्री न्यौपानेको रुवाबासी : सुकुम्बासी हुँ, जरिबाना तिर्न सक्दिनँ
काठमाडौँ – पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनगरी पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्री शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको आरोपल गाएका हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले उनलाई ९ वर्ष ६ महिना कैद सजाय र २० करोड जरिबाना सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो २० करोड जरिबाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको उनको भनाइ छ । उनले समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भए पनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको दाबी गरे ।
पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी पाँच जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्ण रूपमा पूर्वाग्रही भएको जिकिर गरे । पूर्वमन्त्री न्यौपानेले आफ्नो देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिबाना तिर्न नसक्ने बताए ।
उनले आफूमाथि लागेका तीन सजाय निराधार र तथ्यहीनताका साथ लगाइएको बताए। ‘विशेष अदालतले मलाई न्याय दिन्छ भन्ने लागेको थियो । थुनछेक बहसमा साधारण तारिखमा २ लाखसम्मको पैसामा छोड्ने भनेको थियो । आजसम्म विशेष अदालतले एकै व्यक्तिलाई ३ वटा सजाय बिगो २० करोड जरिबाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको छ,’ उनले भने, ‘आजसम्म मेरो देशभरमा कुनै जग्गा छैन, आजसम्म बैंकमा ब्यालेन्स छैन । म मेरो गाउँमा भाइको शरणार्थीका रूपमा बसेको छु । भाडामा बस्छु । भाडा तिर्न सकेको छैन । म न धरौटी राख्न सक्छु । जरिबाना तिर्न सक्छु । म सर्वोच्च अदालत जाने हैसियत छैन । मलाई जनताले चन्दा दिएभने मात्रै त्यत्रो जरिबाना तिर्नसक्छु । म माथि लागेका तीन सजाय निराधार र तथ्यहीन छ । पूर्वाग्रही छ ।’
पूर्वमन्त्री न्यौपानेले कार्यसमिति सहितको निर्णयबाट भाडामा लगाउँदा परिषद्लाई नोक्शानी र आफूलाई फाइदा हुनसक्ने अवस्था कतैबाट पनि विशेष अदालतले पुष्टि गर्न नसक्ने बताए ।