एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी

काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् ।

शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ रहेका छन् । त्यस्तै समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् । राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि ५/५ जना संघीय तथा प्रदेश सांसदहरू प्रस्ताव र समर्थक बस्नुपर्ने कानुनी प्रावधान छ ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धनबाट भने जनमत पार्टीले ममता झा र जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाउने बताएका छन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आज बिहान ९ बजेदेखि खुला दर्ताको समय दिउँसो २ बजेसम्मलाई तोकिएको छ । दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम छ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन् । उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ ।