एकै दलका दुई उम्मेदवारसहित गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी
काठमाण्डौ । दसदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार चयन हुन नसक्दा उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि जसपाबाटै २ जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दिएका हुन् ।
जसअनुसार जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । आज तीनै जनाले उम्मेदवारी दिए पनि भोलि पुनः छलफल गरेर एक जनाको उम्मेदवारी मात्र कायम राखिने गठबन्धनका नेताहरूको भनाइ छ ।
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको थियो । अब दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म गरिने, उम्मेदवारको विरोधमा उजुरी दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दिन सकिने आयोगले जनाएको छ ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन् । उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ ।