एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ बिजेता खेलाडीहरु

फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा आज अवार्ड वितरण गरिएको हो ।

अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जिते । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत रेका थिए ।

विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध उनले ऐतिहासिक गोल गरेका थिए । १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध उनले गोल गरेका थिए । यस्तै उनी एनएसलमा सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।

पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन् । उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५ प्रतिशत रहेको थियो । नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।

त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितिन् । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै उक्त अवार्ड हात पारेकी हुन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरिन् ।

यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल) ले जिते । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो । साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध निर्णायक गोल गरेका थिए ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए । अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे ।

ओलम्पियन पारा खेलाडी पलेशा गोवद्र्धन श्रेष्ठले पारा एथलिट अवार्ड प्रदान पाएकी छन् । जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेकी थिइन् । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् । पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी थिइन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना गर्दै मञ्चले उनीहरुलाई यो अवार्ड दिएको हो । एनएसजेएफले आज अवार्ड वितरण कार्यक्रम गरेको थियो । विभिन्न पाँच विधामा अवार्ड दिइएको हो । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना गरेको थियो । मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ । १९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको थियो ।

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाए । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरियो।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा हो ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका थिए । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।