रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले सेतोपाटीलाई बताए । ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा पुगेका छैनौं। अहिले पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने,’यसबारे फेरि छलफल गरेर निर्णय गर्छौं। सरकारलाई दिएको समर्थन भने कायमै रहन्छ।’
रास्वपाले माघ २२ गते सरकार छोडिसकेको छ । राष्ट्रपति निर्वाचनका लागि एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । पौडेललाई ८ दलको समर्थन छ । पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।