राष्ट्रपतिमा सहयोग गर्नुहुन रामचन्द्र पौडेलले रवि लामिछानेसँग अनुरोध
काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
शनिबार कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै रास्वपा सभापति लामिछानेलाई भेटेर पौडेलले सो आग्रह गरेका हुन् । सभापति लामिछानेलाई भेट्न पौडेल उनको नीजि निवास हात्तिगौंडा पुगेका थिए । ‘मलाई राष्ट्रपति चुनावमा सहयोग गर्नुस,’ रविको सचिवालय सदस्य प्रकाश सिग्देलले भने, ‘पौडेलले सहयोगको अपेक्षा गर्नु भयो। सरले सोचेर बिचार गरेर जवाफ दिने बताउनुभयो।’ ।
पौडेल लामिछानेसँग २० मिनेटभन्दा बढी कुराकानी गरेर निस्किएका थिए । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् । प्रदेशसभातर्फ भने रास्वापा निर्वाचनमा सहभागी नै भएको थिएन्।चुनावमा प्रतिनिधिसभाका ती सांसदको मतभार १५०१ हुन्छ ।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराइसकेको छ भने ८ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलले दर्ता गराउने तयारीमा छन् ।