राष्ट्रपति निर्वाचनसम्म एमालेले सत्तागठबन्धनलाई निरन्तरता दिने
काठमाडौँ — नेकपा (एमाले)काे सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले फागुन २५ सम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ’, उनले भने, ‘पुस १० गते जे सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको तर्क गरे ।
गत पुस १० गते माओवादी केन्द्रसहित सत्तारुढ दलसँगको छलफलमा एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको गुरुङको भनाइ छ ।
दुर्गा प्रसाईं एमालेबाट निष्कासित
त्यस्तै नेकपा एमालेले व्यापारीसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।
चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा उनले आफ्नो जयजयकार गर्न युवाको टोली परिचालन गरेका थिए । महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहन्थे तर अनुकूल भएन । पछि केन्द्रीय सदस्यमा मनोनीत प्रसाईंले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको भूमिका पाएका थिए ।
मंसिरमा भएको निर्वाचनपछि भने प्रसाईंको सक्रियता परिवर्तन भएको छ । उनले राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेका छन् । उनले गत सोमबार झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् । परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाअभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए ।
माओवादी सशस्त्र विद्रोहको समयमा ६ महिना सैनिक हिरासतमा परेका प्रसाईंको छवि विवादास्पद रहँदै आएको छ ।