घानाका फुटबलर अत्सु टर्कीको भग्नावशेषमा मृत भेटिए

काठमाडौँ — घानाका फुटबलर क्रिस्टियन अत्सु गत साता टर्कीको भूकम्पको भग्नावशेषमा मृत अवस्थामा भेटिएका छन् । शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो । फेब्रुअरी ६ मा गएको भूकम्पमा हतायस्थित उनी बसेको भवन भत्किँदा त्यसयता उनी सम्पर्कविहीन थिए । शनिबार उद्धार टोलीले ३१ वर्षीय अत्सुको मृत शरीर भग्नावशेषबाट निकालेको जनाएको छ ।

इङ्लिस प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोरमा आबद्ध भएका थिए। ह्याटेस्पोरले उनको मृत्युको खबरसँगै श्रद्धाञ्जली व्यक्त गरेको छ । उनी एक अब्बल खेलाडी भएको र उनलाई सधैँ स्मरण गरिरहने ह्याटेस्पोरले जनाएको छ ।घानाको राष्ट्रिय टोलीका खेलाडी अत्सुको मद्दतमा २०१५ मा अफ्रिका कप फाइनलमा पुर्‍याएका थिए । यस्तै उनी २०१९ मा घानाका लागि खेल्नका लागि छनोट भएका थिए ।

टर्कीमा गत साता गएको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । हजारौं मानिस घाइते हुनुका साथै थुप्रै बेपत्ता छन् ।