नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : नेपालको ८ कीर्तिमान

काठमाडौं : कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो ।

नेपालका लागि एक सय १३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित एक सय १५ रनको शानदार शतकीय इनिङ खेले । यस्तै, कप्ता रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किँदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे । त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए । नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक तीन–तीन विकेट लिए।

पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले एक सय ३६ मा ९ चौका र पाँच छक्कासहित एक सय ३३ रन बनाएर पेभेलियन फर्के । यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । कुशल मल्लले गरेको ३७औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए ।

त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलात्कारको अभियोगमा तकरीबन ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए । उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए । करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए । यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।

गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो । नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ। यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जित हात पारेसँगै नेपालले आधा दर्जन बढी कीर्तिमान

कीर्तिपुरस्थित त्रिवि मैदानमा जित हात पारेसँगै नेपालले आधा दर्जन बढी कीर्तिमान बनाउन सफल भएको छ-

एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर

नामिबियाविरुद्ध ८ विकेटको क्षतिमा २८७ रन जोडेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर बनायो। यसअघि नेपालले पपुवा न्युगिनीविरूद्ध ८ विकेटको क्षतिमा २८६ रन जोडेको थियो। नेपालले पपुवा न्युगिनीविरूद्ध पहिले ब्याटिङ गरेर सो रन बनाएको थियो ।

रोहितको एक हजार रन

खेलमा ७२ रन जोडेका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बने । रोहितले सन् २०१८ मा एकदिवसीयमा डेब्यू गर्दै ३३ खेलमा १०१७ रन जोडेका छन् । रोहितको एकदिवसीयमा उच्च स्कोर १२६ हो भने उनले अहिलेसम्म १ शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

कुशल एकदिवसीय र टी-२० मा शतक हिर्काउने तेस्रो खेलाडी

खेलमा ११५ रन जोडेका ‌ओपनर कुशल भुर्तेलको पहिलो एकदिवसीय शतक हो । यसअघि उनले टी-२० मा पनि शतक प्रहार गरेका थिए । उनी नेपालका लागि एकदिवसीय र टी-२० शतक हिर्काउने तेस्रो खेलाडी बने । यसअघि दीपेन्द्रसिंह ऐरी र पारस खड्काले नेपालका लागि टी-२० र एकदिवसीय दुवै फर्म्याटको खेलमा शतक प्रहार गरेका थिए ।

अहिलेसम्मकै ठूलो लक्ष्य पार

खेलमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पार गरेसँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्‍यो । नेपालको यसअघि सबैभन्दा ठूलो लक्ष्य पार गरेको रेकर्ड युएईले दिएको २५५ रनको थियो ।

कुशल र रोहितको कीर्तिमानी साझेदारी

खेलमा कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेसँगै दुई कीर्तिमान बने । यो नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि सर्वाधिक रनको साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध गरेको १२९ रनको साझेदारी थियो । त्यतिबेला पनि दुई बीच तेस्रो विकेटका लागि सो साझेदारी भएको थियो । अहिले कुशल र रोहितले समग्र साझेदारी र तेस्रो विकेटको लागि गरी दुई कीर्तिमान बनाए ।

रोहित र सोमपालको सर्वाधिक खेल

नामिबियाविरुद्ध मैदान उत्रिएसँगै ३३-३३ एकदिवसीय खेलेर रोहितकुमार पौडेल र सोमपाल कामी नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बने। दोस्रो सथानमा रहेका आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ३२-३२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

करण केसीले लिए तेस्रो पाँच विकेट

खेलमा पाँच विकेट लिएका करणले नेपालका लागि तीन पटक पाँच विकेट लिने कीर्तिमान बनाए । करणले २९ एकदिवसीय खेल मध्ये तीन खेलमा ५ विकेट लिन सफल भएका हुन् । करणले टी-२० अन्तर्राष्ट्रियमा पनि एक पटक पाँच विकेट लिन सफल भएका छन् ।

लिग-२ मा नामिबियाविरुद्ध पहिलो जित

लिग-२ मा नेपालले अन्य पाँच प्रतिद्वन्द्वीलाई हराए पनि नामिबियालाई भने पहिलो पटक हराउन सफल भयो । यसअघि नामिबियाविरुद्ध लिग-२ मा खेलेका चारै खेलमा नेपाल पराजित भएको थियो । पाँचौ खेलमा भने नेपालले जित निकाल्न सफल भयो ।