टर्की भूकम्पमा मृतकको संख्या ४३ सय नाघ्यो, नयाँ पराकम्प जाने क्रम जारी

एजेन्सी । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् ।

छिमेकी मुलुक सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको समाचारमा जनाइएको छ ।

रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । टर्कीमा भूकम्पका नयाँ पराकम्प जाने क्रम जारी रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहानै ५.५ म्याग्निच्युडको पराकम्प महसुस गरिएको छ ।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

टर्की र सिरियाका भूकम्पपीडितलाई आकस्मिक उद्धार र सहयोग

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसंघले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायहरूले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७‍.८ म्याग्निच्युडको भूकम्पमा परेकाहरूको उद्धारको काम सुरु गरेका हुन् । सो भूकम्पमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघले विशेष टोली पठाएको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिए ।

उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरूलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरूको साथमा रहेको बताए । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरूको उद्धारमा लाग्न संयुक्त राष्ट्रसंघीय उद्धार अधिकारीहरूलाई निर्देशन दिए । उनले भूकम्पको क्षतिको आकलनका साथै त्यसमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघीय निकाय र अधिकारीहरू त्यहाँ पुगेका जानकारी दिए ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेपनजिकै केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा सयाैँकाे मृत्यु भएको छ। भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महसुस गरिएको थियो ।