भावी राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड र ओलीबीच भेटबार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ । संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।
यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच मङ्गलवार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जसलाई एमालेले असम्भव भनिरहेको छ । मङ्गलवार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताए । । उनले आफ्नो पार्टी एमालेका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ । यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त रूपमा राष्ट्रपतिका विषयमा छलफल गरेका थिए ।