प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुभएको हो ।
आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनु भएको हो ।