के हुन्छ रविले पुन: नागरिकता लिन प्रक्रिया ?

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरणअनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन् ।

यस कार्यविधिअनुसार लामिछानेले एक–दुई दिनमै नागरिकता बनाउन सक्नेछन् । उनले ०५० मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता बनाएका थिए । अमेरिकाको नागरिकता लिएपछि कानुनतः उनको नेपाली नागरिकता स्वतः रद्द भएको थियो । यसकारण रविले पुनः नागरिकता लिन नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार प्रक्रिया चाल्नुपर्छ । तर, उनी गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा समेत पुरानै नागरिकता पेस गरेर उम्मेदवार बनेका थिए । जसका कारण उनी समस्यामा परे । रविको नागरिकता र राहदानी दुरुपयोगबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सर्वाेच्चले उनको पुरानो नागरिकता बदर गरेपछि अनुसन्धानमा सहज भएको एक प्रहरी अधिकारी बताउँछन् । एउटै विषयमा सर्वाेच्चमा मुद्दासमेत परेपछि प्रहरीले अनुसन्धानमा ‘पर्खने’ रणनीति लिएको थियो । गृह मन्त्रालयमै परेको उजुरीका आधारमा प्रहरीले उनको नागरिकता विवादमा छानबिन थालेको थियो ।

रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

त्यस्तै सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शाेम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।